२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

मलेसिया र थाई सीमा नजिकै ९० आप्रवासी बोकेको डुङ्गा डुब्यो, दर्जनौँ हताहत भएको आशङ्का

मलेसिया र थाई सीमा नजिकै ९० आप्रवासी बोकेको डुङ्गा डुब्यो, दर्जनौँ हताहत भएको आशङ्का

क्वालालम्पुर- मलेसिया र थाई सीमा नजिक करिब ९० जना कागजात नभएका आप्रवासी बोकेको डुङ्गा डुबेको छ। दुर्घटनामा कम्तीमा एक महिलाको मृत्यु भएको छ भने १० जनालाई सकुशल उद्धार गरिएको मलेसियाली प्रहरीले जनाएको छ।

लाङ्कावी टापुको उत्तरतर्फ तारुताओ टापु नजिक दुर्घटना भएको हो। अहिलेसम्म ११ जना फेला परेका छन् र थप पीडितहरू समुद्रमा हुन सक्ने अनुमान गरिएको छ।

मलेसिया एसियाका गरिब मुलुकबाट आएका आप्रवासीहरूको प्रमुख कार्यस्थल हो। कागजात नभएका कामदारहरू प्रायः निर्माण र कृषि क्षेत्रमा काम गर्छन्। मानव तस्करी सिन्डिकेटहरूले प्रयोग गर्ने यस्ता डुङ्गा खतरनाक हुने भएकाले यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।

सन् २०२१ डिसेम्बरमा पनि मलेसियाको समुद्री तटमा २० भन्दा बढी आप्रवासीकाे डुबेर मृत्यु भएको थियो।