२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

काठमाडौं- आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमार पुगेका ३७ नेपाली नागरिकलाई आज थाइल्याण्डबाट उद्धार गरी नेपाल फर्काइएको छ।

उनीहरूलाई अवैध ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा डेटिङ, क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगीजस्ता काममा लगाइएको थियो। म्यानमार सुरक्षाकर्मीले छापा मार्दा उनीहरू भागेर थाइल्याण्ड पुगेका थिए।

नेपाली राजदूतावासले थाइल्याण्डका निकायसँग समन्वय गरेर नेपाल एयरलाइन्सको उडानमार्फत उनीहरूलाई स्वदेश ल्याएको हो। म्यावडीमा रहेका थप २३ जना, मेसोटमा रहेका दुई जना तथा कम्बोडियामा रहेका चार जना नेपालीलाई पनि चाँडै फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ।

राजदूतावासले वैदेशिक रोजगारीमा जान इच्छुक नेपालीलाई सरकारले तोकेको श्रम स्वीकृति लिएर मात्र विदेश जान र छिटो पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डजस्ता मुलुकमा नजान आग्रह गरेको छ।