विमानस्थलमा गैरआवासीय र नेपाली मूलका विदेशीलाई छुट्टै डेस्क
- १० चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- विश्वभर रहेका नेपाली मूलका नागरिक र गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा आएको छ। विमानस्थलको अध्यागमन कार्यालयले नेपाल आउने र यहाँबाट फर्किने कक्षमा यो विशेष सेवा सुरु गरेको हो।
कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेले पहिले गैरआवासीय नेपाली र भिसा नचाहिने देशका नागरिकलाई मात्र यस्तो व्यवस्था भएको बताए। उनले अब विदेशी राहदानी बोकेका नेपाली मूलका नागरिकलाई पनि छुट्टै डेस्कको व्यवस्था गरिएको जानकारी दिए। नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध बलियो बनाउनुका साथै पर्यटन र लगानी बढाउने उद्देश्यले यस्तो निर्णय गरिएको उनले स्पष्ट पारे।
अध्यागमन विभागले चैत ८ गते गरेको निर्णयअनुसार यो नयाँ नियम लागू गरिएको हो। यसले गर्दा नेपाल आउजाउ गर्ने नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा थप सहज हुनेछ।
