श्री रामगीता वाङ्मय मन्दिरद्वारा विभिन्न विधाका पुरस्कार घोषणा
- १३ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- साहित्य र रङ्गकर्मको क्षेत्रमा क्रियाशील संस्था ‘श्री रामगीता वाङ्मय मन्दिर’ ले वि.सं. २०८२ का लागि विभिन्न विधाका प्रतिष्ठित पुरस्कार र सम्मानहरूको घोषणा गरेको छ। संस्थाकी अध्यक्ष गीता खत्रीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार यस वर्षको ‘प्रतिक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ भारतीय नेपाली कवि मनप्रसाद सुब्बालाई प्रदान गरिने भएको छ।
सुब्बाको कविता-सङ्ग्रह ‘पञ्चतत्त्वको पालाम’ लाई ५० हजार रुपैयाँ राशिसहितको यो पुरस्कार दिने निर्णय गरिएको हो। निर्णायक मण्डलले उक्त कृतिमा वातावरणीय चेतना र मौलिक स्थानीय प्रज्ञाको सुन्दर समायोजन रहेको ठहर गरेको छ। यसअघि सार्वजनिक गरिएको उत्कृष्ट सात कृतिको सूचीबाट सुब्बाको कृति छानिएको हो।
त्यस्तै, वि.सं. २०८० सालको ‘अशेष मल्ल-सावित्री रङ्गकर्म पुरस्कार’ रङ्गमञ्च र नाट्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएबापत कौशी थिएटरकी सञ्चालिका आकांक्षा कार्कीलाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि पनि ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ।
संस्थाले समग्र साहित्य र नाट्य क्षेत्रमा दीर्घ योगदान पुर्याउने दुई साधकहरूलाई ‘रामगीता लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गर्ने निर्णय गरेको छ। यस वर्ष यो सम्मान वरिष्ठ गीतकार तथा समालोचक प्रा. डा. कृष्णहरि बराल र वरिष्ठ कलाकार सुषमा शाहीलाई प्रदान गरिनेछ।
यसैगरी, सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत ‘रामगीता विशिष्ट सञ्चार सेवा पुरस्कार’ बाट खसोखास डटकमका सम्पादक किशोर पन्थीलाई पुरस्कृत गर्ने निर्णय भएको छ।
घोषित सबै पुरस्कार तथा सम्मानहरू आगामी वि.सं. २०८३ वैशाख १२ गते काठमाडौँमा आयोजना हुने एक विशेष समारोहका बीच वितरण गरिने संस्थाले जनाएको छ।
