नेपालमा पहिलो पटक ‘वर्ड अफ डान्स’, निर्णायकमा बलिउडका टेरेन्स लुइस
- ०६ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपालमा पहिलो पटक विश्वस्तरीय नृत्य प्रतियोगिता ‘वर्ड अफ डान्स नेपाल २०२६’ आयोजना हुने भएको छ। आइतबार ललितपुरमा एउटा कार्यक्रम गर्दै यसको औपचारिक घोषणा गरिएको हो।
यो प्रतियोगितामा बलिउडका चर्चित नृत्य निर्देशक टेरेन्स लुइससँगै नेपालका किरण थापा र जेडी तामु निर्णायक रहनेछन्। जुनसुकै उमेर समूहका व्यक्तिले आफ्नो मनपर्ने नृत्य शैलीमा भाग लिन पाउने यस प्रतियोगितामा सात वटा समूह राखिएको छ। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ नगद, अवार्ड र विभिन्न उपहार पाउनेछन्।
अमेरिकाको लस एन्जलसबाट सुरु भएको यो प्रतियोगिता अहिले विश्वका ५० भन्दा बढी देशमा फैलिसकेको छ। यस कार्यक्रमले नेपालको भाषा र संस्कृतिलाई विश्वभर चिनाउन मद्दत पुग्ने आयोजकको अपेक्षा छ। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा (फाइनल) आगामी जुन ६ तारिखमा हुने तय भएको छ।
कार्यक्रमको घोषणा सभामा कलाकारहरू दयाहाङ राई, बुद्धि तामाङ, कविता नेपालीलगायत अमेरिकी दूतावासका प्रतिनिधिको उपस्थिति थियो। नृत्यांगना कविता नेपालीले नृत्यमा भविष्य खोज्नेहरूका लागि यो एउटा उत्कृष्ट अवसर भएको बताइन्।