२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

सिड्नीमा भेटिएको शवबारे अन्योल : विक्रम लामा भएको पुष्टि हुन बाँकी

सिड्नीमा भेटिएको शवबारे अन्योल : विक्रम लामा भएको पुष्टि हुन बाँकी

सिड्नी- अस्ट्रेलियाको सिड्नीस्थित एउटा पार्कमा भेटिएको शवको पहिचान नहुँदा नेपाली समुदाय अन्योलमा परेको छ। अस्ट्रेलियाको ‘द गार्डियन’ पत्रिकाले उक्त शव नेपाली नागरिक विक्रम लामाको भएको दाबी गरेपछि यो अन्योल थप बढेको हो।

गत डिसेम्बर ७ मा सिड्नीको पार्कमा एउटा बेवारिसे शव भेटिएको थियो। तामाङ सोसाइटी र निम्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा न्यु साउथ वेल्सका वाणिज्यदूत संजीव शर्माले डीएनए रिपोर्ट नआएसम्म शव कसको हो भनेर पक्का गर्न नसकिने बताए।

शवको पहिचान गर्न नेपालबाट विक्रमकी आमाको डीएनए पठाइएको छ। तर, प्रहरीका अनुसार त्यसको नतिजा आउन अझै ४ देखि ६ हप्ता लाग्नेछ। सामाजिक सञ्जालमा शवसँगै पासपोर्ट पनि भेटिएको हल्ला चले पनि प्रहरीले त्यहाँ कुनै पासपोर्ट नभेटिएको प्रस्ट पारेको छ।

मकवानपुर घर भएका विक्रम २०७३ सालदेखि नै परिवारको सम्पर्कमा छैनन्। अहिले सीसीटीभी फुटेजको आधारमा मात्र त्यो शव उनको हुन सक्ने अनुमान गरिएको छ। नेपाली समुदायका अगुवाहरूले यस गम्भीर घटनामा दूतावास र सरकारले खासै चासो नदेखाएको गुनासो गरेका छन्। उनीहरूले सबै मिलेर छिटो सत्यतथ्य पत्ता लगाउन र परिवारलाई राहत दिन माग गरेका छन्।