२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

तमिलनाडु चुनाव : अभिनेता विजय थलापतिको पार्टी सबैभन्दा अगाडि

तमिलनाडु चुनाव : अभिनेता विजय थलापतिको पार्टी सबैभन्दा अगाडि

भारत – दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता जोसेफ विजय (थलापति) को पार्टी ‘टीभीके’ले तमिलनाडु विधानसभा चुनावमा सबैलाई चकित पारेको छ। उनको पार्टी १०४ स्थानमा अग्रता लिँदै सबैभन्दा अगाडि छ। सत्तारुढ दल डीएमके ६३ र विपक्षी एआईएडीएमके ६७ स्थानमा पछाडि परेका छन्। विजय आफैँ पनि पेराम्बुर क्षेत्रबाट आफ्ना प्रतिस्पर्धीभन्दा करिब तीन हजार मतले अगाडि छन्।

सन् २०२४ को फेब्रुअरीमा राजनीतिमा प्रवेश गरेका उनले २०२६ को चुनावमा मात्र ध्यान दिने बताएका थिए। राजनीतिमा पूर्ण रूपमा लाग्न उनले चलचित्र क्षेत्र छोड्ने घोषणा समेत गरेका छन्। ‘थलापति ६९’ नै उनको अन्तिम चलचित्र हुनेछ। बाल कलाकारको रूपमा अभिनय थालेका उनी लामो संघर्षपछि निकै लोकप्रिय नायक बनेका थिए।

यसअघि आफ्ना बुबाले बिनासहमति विजयको नाममा पार्टी खोल्न खोज्दा उनीहरूबीच विवादसमेत भएको थियो। त्यस्तै, गत वर्ष उनको पार्टीको कार्यक्रममा भागदौड हुँदा ३९ जनाको ज्यान गएको थियो। त्यतिबेला उनले मृतकका परिवारलाई २० लाख र घाइतेलाई २ लाख रुपैयाँ सहयोग दिएका थिए। अहिले चुनावमा उनको पार्टीले बहुमत ल्याए उनी मुख्यमन्त्री बन्ने चर्चा चलिरहेको छ।