न्युयोर्कमा क्रियापुत्री भवन र गुम्बा निर्माण सहयोगार्थ देवी प्रतिभाको कथा वाचन हुने
- २३ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क – अमेरिकाको न्युयोर्कमा क्रियापुत्री भवन तथा गुम्बा निर्माणको लागि सहयोग जुटाउन चर्चित कथावाचक देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचन गर्ने भएकी छन्। आगामी मे १५ देखि १७ तारिखसम्म वुडसाइडस्थित श्री दिव्य धाममा यो धार्मिक कार्यक्रम आयोजना हुन लागेको हो।
‘हामी नेपाली इन्टरनेसनल’ र ‘रिबेल इभेन्ट्स’ले संयुक्त रूपमा आयोजना गर्न लागेको यस तीन दिने कार्यक्रममा देवी प्रतिभाले कथा वाचन, भगवद् गीता प्रवचन, भजन सन्ध्या र पूजापाठ मार्फत आध्यात्मिक सन्देश दिनेछिन्। कार्यक्रमका आयोजक सूर्य सिम्खडाले सामुदायिक एकता बढाउन र भवन निर्माण कार्यको लागि आर्थिक सहयोग जुटाउन यो कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा भक्तजनहरूको सहभागितामा कलश यात्रा, दीप प्रज्वलन, वैदिक पूजा र शङ्खनाद जस्ता गतिविधिहरू हुनेछन्। पछिल्लो समय देवी प्रतिभाले नेपाल, भारत लगायत विभिन्न देशमा कथा प्रवचन गरेर धेरैलाई आध्यात्मिक प्रेरणा दिँदै आएकी छन्।
