२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

नेपाल डे परेड २०२६ को तयारी तीव्र, तेस्रो आयोजक समिति बैठक तथा मिडिया ब्रिफिङ सम्पन्न

नेपाल डे परेड २०२६ को तयारी तीव्र, तेस्रो आयोजक समिति बैठक तथा मिडिया ब्रिफिङ सम्पन्न

 

न्युयोर्क  — बहुप्रतीक्षित नेपाल डे परेड २०२६ को तयारी उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। यसै क्रममा आयोजक समितिको तेस्रो बैठक न्युयोर्कमा सम्पन्न भएको छ।

बैठकमा आयोजक समिति सदस्यहरू, संयोजकहरू तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। परेड व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, समुदायको सहभागिता, स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, प्रचारप्रसार, प्रायोजन व्यवस्थापन, अतिथि सत्कार लगायतका विषयमा छलफल गरिएको थियो।

आयोजकहरूले यस वर्षको नेपाल डे परेड अमेरिकामा रहेका नेपाली समुदायका लागि अहिलेसम्मकै भव्य, आकर्षक र ऐतिहासिक कार्यक्रम हुने विश्वास व्यक्त गरेका छन्। यो कार्यक्रम नेपाली समुदायको एकता, विविधता र योगदानलाई विश्वसामु प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर हुने बताइएको छ।

त्यस्तै विशेष मिडिया ब्रिफिङ कार्यक्रम समेत आयोजना गरिएको थियो। टेलिभिजन, अनलाइन समाचार पोर्टल, रेडियो तथा सामुदायिक सञ्चारमाध्यमका पत्रकारहरू कार्यक्रममा सहभागी भएका थिए।

मिडिया ब्रिफिङका क्रममा नेपाल डे परेड २०२६ का अध्यक्ष बासु लामिछानेले मे १७, २०२६, बिहान ११ बजे, म्यानहट्टनमा आयोजना हुने नेपाल डे परेड २०२६ सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेका थिए। परेड कन्भेनर ए.पी. लामाले नेपाल डे परेड केवल सांस्कृतिक उत्सव मात्र नभई नेपाली पहिचान, संस्कृति, परम्परा र अमेरिकामा रहेका नेपाली समुदायको योगदान प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च भएको उल्लेख गरेका थिए, साथै आर्थिक समितिका संयोजक कृष्ण लामिछानेले अहिलेसम्मको आर्थिक विवरण प्रस्तुत गरेका थिए।

आयोजकहरूले सञ्चारकर्मीहरूलाई कार्यक्रमको व्यापक प्रचारप्रसार गरी समुदायको सहभागिता बढाउन सहयोग गर्न आग्रह गरेका थिए। साथै, नेपाली समुदायलाई जोड्न र सचेतना फैलाउन निरन्तर सहयोग पुर्‍याउँदै आएका पत्रकार तथा मिडिया प्रतिनिधिहरूप्रति आयोजकहरूले आभार व्यक्त गरेका छन्।

नेपाल डे परेड २०२६ को आयोजना एनआरएनए एनसीसी युएसए न्युयोर्क च्याप्टर र फेडेरेसन अफ इन्डिजिनस पिपुल्स अफ नेपाल इन अमेरिकाको संयुक्त आयोजनामा विभिन्न सङ्घसंस्था तथा स्वयंसेवकहरूको सहकार्यमा हुँदै छ।

आयोजकहरूले सम्पूर्ण नेपाली समुदाय, नेपालप्रेमी मित्रहरू तथा बहुसांस्कृतिक उत्सवलाई माया गर्ने सबैलाई यस ऐतिहासिक कार्यक्रममा सहभागी भई नेपाल डे परेड २०२६ लाई अविस्मरणीय बनाउन हार्दिक निमन्त्रणा दिएका छन्।

बेगम पण्डित – त्रिवेणी टाइम्स, न्युयोर्क