२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

न्युयोर्कमा सांसद बमको छलफल कार्यक्रम: प्रवासीलाई मतदानको अधिकार दिलाउन लड्ने

न्युयोर्कमा सांसद बमको छलफल कार्यक्रम: प्रवासीलाई मतदानको अधिकार दिलाउन लड्ने

न्युयोर्क- ‘हामी नेपाली इन्टरनेसनल’ संस्थाले प्रवासी नेपालीसँग विशेष छलफल कार्यक्रम ज्याक्सन हाइटस्थित ज्याक्सन मार्केटमा सम्पन्न भएकाे छ।

‘नेपाल र नेपालीको लागि – हामी नेपाली’ भन्ने नारासहित आयोजना भएकाे छलफलमा विदेशमा रहेका नेपालीको पहिचान, समाजमा उनीहरूको घुलमिल, नेपालमा लगानी र दोहोरो नागरिकताको विषयमा कुराकानी भएकाे थियाे। सांसद पुकार बमले प्रवासी नेपालीको आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउने बाचा गरेका छन्।

देश बाहिर बस्ने नेपालीको अधिकारको विषयमा उनले विशेष जोड दिए। नेपालको आम्दानीमा प्रवासी नेपालीले पठाएको पैसाको ठुलो योगदान छ तर उनीहरूले मतदान गर्न पाएका छैनन्। अब प्रवासी नेपालीलाई पनि मतदान गर्ने अधिकार दिलाउन आफूले लड्ने उनले बताए। यसका साथै नेपाली नागरिकताको निरन्तरताको लागि पनि काम गर्ने उनको भनाइ छ।

देशमा लगानी ल्याउन धेरै सरकारी झन्झट भएको उनले बताए। विदेशमा रहेका नेपालीले आफ्नो सीप र पुँजी नेपालमा ल्याउन चाहे पनि पुरानो सोच र नीतिले समस्या भएको उनले स्पष्ट पारे। अब प्रविधिको प्रयोग बढाएर यस्ता सबै झन्झट हटाउने उनले वाचा गरे।

भ्रष्टाचारको विषयमा आफूले कहिल्यै सम्झौता नगर्ने उनले बताए। स्वास्थ्य क्षेत्रको भ्रष्टाचारविरुद्ध आफू १२ दिनसम्म अनशन बसेको घटना उनले सम्झिए। संसदमा पनि भ्रष्टाचारीलाई कारबाही गर्न कडा आवाज उठाउने उनले बताए।