२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

न्युयोर्कमा भव्य ‘नेपाल डे परेड’ सम्पन्न, सडकमै झल्कियो नेपाली संस्कृति

न्युयोर्कमा भव्य ‘नेपाल डे परेड’ सम्पन्न, सडकमै झल्कियो नेपाली संस्कृति

न्युयोर्क – नेपाली कला, संस्कृति र पहिचान झल्काउने ‘नेपाल डे परेड २०२६’ न्युयोर्कको म्यानहटनमा भव्य रूपमा सम्पन्न भएको छ। हजारौँ नेपाली र नेपालप्रेमीको उत्साहजनक सहभागिता रहेको यो कार्यक्रमले प्रवासमा नेपालीको एकता प्रस्तुत गरेको छ।

नेपाल महावाणिज्य दूतावासको संरक्षण, एनआरएनए एनसिसी युएसए न्युयोर्क च्याप्टर र फिप्नालगायत संस्थाको सहकार्यमा यो परेड आयोजना गरिएको हो। परेडमा नेपालका विभिन्न जातजातिको संस्कृति, परम्परा, सङ्गीत, लोकनृत्य र भेषभूषालाई विश्वसामु देखाइएको थियो।

परेडमा गुरुङ र मगर समुदायले लोकसङ्गीत र नृत्य प्रस्तुत गरे। शेर्पाले हिमाली संस्कृति झल्काउने पोसाक लगाए भने तामाङले सेलो गाउँदै नाचे। राई र लिम्बुले पूर्वी नेपालको संस्कृति देखाए। यस्तै, थारु र मधेसी समुदायले तराईको मौलिक संस्कृति प्रस्तुत गर्दै परेडमा रौनकता थपे। अन्य संस्थाले पनि नेपालको विविधतालाई उजागर गरे।

न्युयोर्कका सडकहरू नेपाल र अमेरिकाको झन्डा, लोकबाजा, सांस्कृतिक गीतसङ्गीत र नाराले गुन्जायमान बनेका थिए। यसले विदेशी दर्शकको पनि ध्यान तानेको थियो।

परेडपछिको कार्यक्रममा नेपाल डे परेडका अध्यक्ष बासु लामिछानेले यो परेड उत्सव मात्र नभएर नेपाली पहिचानको परिचय भएको बताए। उनले यसले विश्वलाई नेपाल विविधता र संस्कृतिको देश हो भन्ने सन्देश दिएको उल्लेख गरे।

त्यसैगरी, महावाणिज्यदूत दधिराम भण्डारीले यति धेरै नेपाली एउटै मञ्चमा भेला हुनु ठूलो उपलब्धि भएको बताए। उनले यसले नेपाली समुदायको शक्ति र एकता देखाएको उल्लेख गरे।

अन्य वक्ताले पनि विदेशमा रहेका नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृतिसँग जोडि राख्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। विभिन्न सांस्कृतिक प्रस्तुति र गीतसङ्गीतसहित परेड समापन भएको थियो।

– बेगम पण्डित,न्युयोर्क