२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

बालेन सरकारको बजेट: वैदेशिक रोजगारी सुरक्षित बनाइने, रेमिट्यान्स पठाउनेलाई चिठ्ठा

बालेन सरकारको बजेट: वैदेशिक रोजगारी सुरक्षित बनाइने, रेमिट्यान्स पठाउनेलाई चिठ्ठा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो पहिलो बजेट सार्वजनिक गरेको छ। शुक्रबार संसदमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विशेष प्राथमिकता दिइएको छ।

अर्थमन्त्री वाग्लेले नयाँ गन्तव्य देशहरूसँग श्रम सम्झौता गर्ने र पुराना सम्झौतालाई सुधार गर्ने बताए। विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न र ज्यान गुमाएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउन आवश्यक बजेट छुट्याइएको उनले जानकारी दिए। अब सीप सिकेर मात्र विदेश जान पाइने व्यवस्था सरकारले मिलाउनेछ।

कामदारलाई बिनाधितो ऋण दिने र रोजगारदाताबाटै किस्ताबन्दीमा भुक्तानी गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई कामदारमैत्री बनाइने अर्थमन्त्रीले प्रस्ट पारे। यसैगरी, औपचारिक माध्यमबाट देशमा पैसा पठाउनेलाई प्रोत्साहन गर्न रसिदमा आधारित चिठ्ठा कार्यक्रम चलाइनेछ।

विदेशबाट आएको पैसालाई उपभोगको सट्टा उत्पादनमा लगाउन ‘विप्रेषण-लगानी मिलान कोष’ स्थापना गरिनेछ। विदेशबाट फर्केका नेपालीको ज्ञान र सीप देशमै सदुपयोग गर्न विशेष कार्यक्रम सञ्चालन गरिने र युवाहरूलाई छोटो अवधिको तालिम दिएर सीपयुक्त बनाइने सरकारले घोषणा गरेको छ।