२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

ममता काफ्ले बेपत्ता प्रकरण: आरामा भेटियो मानव रौं, डिएनए रिपोर्टले नयाँ रहस्य खोल्ने

ममता काफ्ले बेपत्ता प्रकरण: आरामा भेटियो मानव रौं, डिएनए रिपोर्टले नयाँ रहस्य खोल्ने

भर्जिनिया- अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले बेपत्ता भएको दुई वर्षपछि अनुसन्धानमा महत्त्वपूर्ण प्रमाण फेला परेको छ। प्रहरीले एउटा आरामा मानव रौं भेटेपछि यस घटनाले नयाँ मोड लिएको हो।

प्राप्त जानकारी अनुसार अदालतमा पेस गरिएको नयाँ कागजातमा अनुसन्धानकर्ताले शंकास्पद आराबाट मानव रौं, रौंका टुक्राहरू र धुलो जस्तो देखिने वस्तु बरामद गरेको उल्लेख छ। सूक्ष्म परीक्षणपछि ती रौं मानव अवशेष भएको पुष्टि भएको हो। आराबाट भेटिएका तीन वटा रौंको न्युक्लियर डिएनए परीक्षण भइरहेको छ। यो परीक्षणबाट ती रौं कसको हो भन्ने कुरा स्पष्ट हुनेछ।

ममता काफ्ले सन् २०२४ अगस्टदेखि बेपत्ता छिन्। उनका श्रीमान् नरेश भट्टले ममता हराएको उजुरी तीन दिन ढिलो गरी प्रहरीमा दिएका थिए। प्रहरीले अनुसन्धानका क्रममा उनीहरूको घरभित्र रगतका टाटा भेटेपछि नरेशलाई हत्याको आशंकामा पक्राउ गरेको थियो।

शव फेला नपरे पनि हत्या भएको दाबीसहित नरेशविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ। अमेरिकाको कानुनी इतिहासमा शव बिना हत्याको मुद्दा सावित गर्नु निकै जटिल मानिन्छ। तर, अहिले आरामा भेटिएको रौंको डिएनए रिपोर्ट ममताको हो भन्ने पुष्टि भएमा नरेशविरुद्धको प्रमाण थप बलियो हुनेछ।

लामो समयदेखि न्यायको पर्खाइमा रहेको नेपाली समुदाय र अमेरिकी कानुनी क्षेत्रले यो नयाँ प्रमाणलाई चासोका साथ हेरेका छन्। डिएनएको अन्तिम रिपोर्टले यस घटनाको वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ।