२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

पत्रकार मनोज बस्नेतलाई न्युयोर्कमा विशेष सम्मान, नेपाली र हिन्दु समुदायमा पुर्याएको योगदानको कदर

पत्रकार मनोज बस्नेतलाई न्युयोर्कमा विशेष सम्मान, नेपाली र हिन्दु समुदायमा पुर्याएको योगदानको कदर

न्युयोर्क– अमेरिकाको न्युयोर्कस्थित सफोक काउन्टीका सांसद स्यामुअल गोन्जालेजले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई विशेष सम्मान प्रदान गरेका छन्। पत्रकारिता र सञ्चार क्षेत्रमार्फत नेपाली तथा हिन्दु समुदायमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।

न्युयोर्कमा आयोजित एक विशेष कार्यक्रममा ९ औं विधायिका जिल्लाका सांसद गोन्जालेजले बस्नेतलाई यो सम्मान हस्तान्तरण गरेका थिए। सम्मानपत्रमा बस्नेतले लामो समयदेखि सञ्चार क्षेत्रमा रहेर नेपाली र हिन्दु डायस्पोरामा पत्रकारिताको सीप र दक्षता विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।

सम्मान प्रदान गर्दै सांसद गोन्जालेजले भने, “पत्रकारितामा सत्य र तथ्यको महत्त्व स्थापित गर्न तथा सीमान्तकृत नेपालीका आवाजलाई मूलधारमा ल्याउन बस्नेतले महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनको कामले नयाँ पुस्तालाई पत्रकारिता र सञ्चार क्षेत्रमा आउन ठूलो प्रेरणा दिएको छ।”

मनोज बस्नेत सन् २०२४ को जुलाईदेखि नेपालको ठूलो सञ्चारगृह ‘अन्नपूर्ण मिडिया नेटवर्क’ (एएमएन) को महाप्रबन्धकको रूपमा कार्यरत छन्। उनले अन्नपूर्ण पोस्ट (दैनिक), द अन्नपूर्ण एक्सप्रेस (अंग्रेजी दैनिक), रेडियो अन्नपूर्ण, एपीवान टेलिभिजन र अनलाइन पोर्टलको व्यवस्थापकीय नेतृत्व सम्हालिरहेका छन्।

सञ्चार क्षेत्रमा १८ वर्षभन्दा बढी अनुभव भएका बस्नेत समाचार संकलन, बजार व्यवस्थापन र कर्पोरेट रणनीतिमा पनि पोख्त मानिन्छन्। सफोक काउन्टीले उनको काम र सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै यो सम्मान प्रदान गरेको हो।

अमेरिकास्थित त्रिवेणी टाइम्सका अध्यक्ष नवराज केसीले यो सम्मानले नेपाली डायस्पोरा र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ बलियो बनाएको बताए। उनले यसलाई नेपाली पत्रकारिताको बढ्दो अन्तर्राष्ट्रिय प्रतिष्ठाको संकेतका रूपमा पनि लिएका छन्।