१३ असार २०८३, शनिबार
27 June 2026, Saturday

न्यूयोर्कमा १० लाख अपार्टमेन्टको भाडा नबढ्ने, मेयर मामदानीले पूरा गरे चुनावी वाचा

न्यूयोर्कमा १० लाख अपार्टमेन्टको भाडा नबढ्ने, मेयर मामदानीले पूरा गरे चुनावी वाचा

न्यूयोर्क- न्यूयोर्क सहरका मेयर जोहरान मामदानीले आफ्नो प्रमुख चुनावी वाचा पूरा गरेका छन्। बिहीबार बेलुका उनको नियन्त्रणमा रहेको भाडा निर्धारण बोर्डले करिब १० लाख अपार्टमेन्टको भाडा नबढाउने निर्णय गरेको छ। यसबाट सहरका करिब २० लाख मानिसलाई ठूलो राहत मिल्नेछ।

चुनावको बेला मामदानीले “म तिम्रो भाडा बढ्न दिन्न” भनेर निकै प्रचार गरेका थिए। यो निर्णयसँगै उनले आफ्नो भनाइलाई व्यवहारमा उतारेका छन्। भाडा नियन्त्रित यी अपार्टमेन्टहरूले न्यूयोर्क सहरको कुल आवासको करिब ४० प्रतिशत हिस्सा ओगट्छन्।

तर, घरधनीहरू भने यो निर्णयबाट रुष्ट छन्। न्युयोर्क अपार्टमेन्ट एसोसिएसनका प्रमुख केनी बर्गोसले भाडा नबढ्दा घरको मर्मत सम्भार गर्न गाह्रो हुने बताए। महँगी बढिरहेको बेला भाडा नबढाउँदा धेरै घरधनीहरू आर्थिक संकटमा पर्ने र घरहरू जीर्ण बन्दै जाने उनको भनाइ छ।

यस निर्णयविरुद्ध अदालतमा मुद्दा पर्ने सम्भावना देखिएको छ। निर्णय हुनुअघि नै बोर्डमा घरधनीको प्रतिनिधित्व गर्ने सदस्य क्रिस्टिना स्मिथले राजीनामा दिएकी छिन्। उनले बोर्डले स्वतन्त्र रूपमा सत्यतथ्य जाँच्न छाडेको र पहिले नै तय गरिएको योजनाअनुसार निर्णय लादेको आरोप लगाइन्।

अघिल्ला मेयर एरिक एडम्सको पालामा यस्ता अपार्टमेन्टको भाडा केही प्रतिशतले बढाइएको थियो। तर, हालै सहरको सरकारी निवासमा सर्नुअघि आफैँ पनि लामो समय यस्तै भाडा नियन्त्रित अपार्टमेन्टमा बसेका मामदानीले महँगीको मारमा परेका नागरिकलाई राहत दिन भाडा स्थिर राख्नु परेको बताएका छन्।