न्युयोर्कमा सरकारी भवन बाहिर आगजनी गर्ने पूर्व अमेरिकी सैनिक पक्राउ
- ०६ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कस्थित एक सरकारी भवन बाहिर आगजनी र आक्रमण गरेको आरोपमा अमेरिकी सेनाका ४३ वर्षीय पूर्व सैनिक एन्ड्रयु अराबाका पक्राउ परेका छन्। अध्यागमन अदालत, एफबीआई र अन्य सरकारी कार्यालयहरू रहेको न्युयोर्कको ‘२६ फेडेरल प्लाजा’ बाहिर सोमबार बिहान उनले यो आक्रमण गरेका हुन्।
अराबाकाले भवनको प्रवेशद्वार नजिकै पेट्रोल खन्याएर आगो लगाएका थिए। त्यसपछि उनले पटाका पड्काउनुका साथै पेलेट गन (हावाबाट चल्ने बन्दुक) ले ५ देखि ७ पटकसम्म भवनतर्फ गोली चलाएका थिए। उनलाई तत्कालै त्यहाँ रहेका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। यस घटनामा दुई सरकारी कर्मचारी र एक सर्वसाधारण गरी तीन जनालाई सामान्य चोट लागेको छ।
एफबीआईका अधिकारी जेम्स बर्नाकलले उनलाई “सरकार र अमेरिका विरोधी अतिवादी” भनेर वर्णन गरे। पक्राउ पर्दा उनको साथबाट पेलेट गन, बञ्चरो, मार्तोल र चक्कु जस्ता हतियारहरू बरामद गरिएको छ। अधिकारीहरूका अनुसार उनले अध्यागमन तथा भन्सार प्रवर्तन निकायको विरोध गर्दै यो आक्रमण गरेका हुन्।
मंगलबार म्यानहटनको अदालतमा उनीविरुद्ध आगजनीको मुद्दा दायर गरिएको छ। उनले गत जनवरी महिनादेखि नै यस आक्रमणको योजना बनाएको र मानिसहरूको ज्यान जान सक्ने जोखिमको बारेमा आफू जानकार रहेको स्वीकार गरेका छन्। उनका वकिलले भने उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताएका छन्। हाल उनी हिरासतमा छन्।