अनररी कन्सुलर कर्प्स नेपालको नयाँ डिनमा सुरज वैद्य, विदेशी लगानी ल्याउने मुख्य लक्ष्य
- ०८ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको नयाँ डिनमा चुनिएका छन्। बिहीबार भएको साधारणसभाले नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्षसमेत रहेका वैद्यलाई सर्वसम्मत रूपमा यो जिम्मेवारी दिएको हो। यसअघि भोला थापा डिन थिए भने नयाँ भाइस डिनमा पासाङ दावा शेर्पा छानिएका छन्।
नयाँ डिन वैद्यले नेपालमा विदेशी लगानी भित्र्याउने, पर्यटन बढाउने र आर्थिक कूटनीति बलियो बनाउने काम आफ्नो मुख्य प्राथमिकता हुने बताए। उनले विश्वका ६४ भन्दा बढी देशको प्रतिनिधित्व गर्ने यो संस्थाले नेपालको आर्थिक विकास र अन्तर्राष्ट्रिय व्यापार बढाउन ठूलो भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा परराष्ट्र मामिला विश्लेषक तथा पूर्वमेजर जनरल बिनोज बस्न्यातले बदलिँदो विश्व राजनीतिलाई अवसर मानेर नेपालले सक्रिय कूटनीतिमार्फत विदेशी लगानी र प्रविधि ल्याउनुपर्नेमा जोड दिए।
यस्तै, निवर्तमान डिन भोला थापाले यो संस्थालाई आर्थिक कूटनीतिमा सरकारको रणनीतिक साझेदार बनाउन परराष्ट्र मन्त्रालयमा प्रस्ताव पेस गरेको जानकारी दिए। साथै, राहदानी विभागको लाइन व्यवस्थापन सुधार्न पनि प्रस्ताव राखिएको उनले बताए।