न्युयोर्कमा दुई जनामाथि चक्कु प्रहार, आक्रमणकारी पक्राउ
- ०८ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कस्थित सेन्ट्रल पार्क नजिकै दुई जना पुरुषमाथि चक्कु प्रहार भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५१ वर्षका राहुल मोरालेसलाई पक्राउ गरेको छ।
बिहीबार दिउँसो ८४ औँ स्ट्रिट नजिकै हिँडिरहेका ५७ वर्षका पुरुषमाथि पछाडिबाट एक्कासि चक्कु प्रहार भएको थियो। त्यसको केही मिनेटमै आक्रमणकारीले ८६ औँ स्ट्रिटमा अर्का ५० वर्षका पुरुषको छातीमा चक्कु हानेका थिए। घाइते दुवै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आक्रमणका क्रममा उनले धर्मसँग जोडिएको नाराबाजी गरेका थिए। घाइतेमध्ये एक जना एसियाली र अर्का यहुदी मूलका भएकाले प्रहरीले यसलाई घृणाजन्य अपराधको कोणबाट पनि अनुसन्धान गरिरहेको छ। पक्राउ परेका व्यक्ति र घाइतेहरूबीच कुनै चिनजान वा पुरानो सम्बन्ध नदेखिएको प्रहरीको भनाइ छ।
न्युयोर्क प्रहरी आयुक्त जेसिका टिसले प्रारम्भिक अनुसन्धानबाट आक्रमणकारीको मानसिक स्वास्थ्यमा समस्या हुन सक्ने देखिएको बताइन्। यस्तै न्युयोर्कका मेयर जोहरान ममदानी र गभर्नर क्याथी होचुलले घटनाको घोर निन्दा गर्दै न्युयोर्कमा यस्ता हिंसात्मक कार्य सह्य नहुने बताए।