८ साउन २०८३, शुक्रबार
24 July 2026, Friday

न्युयोर्कको पेन स्टेसनको नाम ‘ट्रम्प स्टेसन’ राख्ने तयारी

न्युयोर्कको पेन स्टेसनको नाम ‘ट्रम्प स्टेसन’ राख्ने तयारी

न्युयोर्क- अमेरिकाको रिपब्लिकन प्रशासनले न्युयोर्कस्थित प्रख्यात पेन स्टेसनको नाम फेर्ने प्रस्ताव अघि सारेको छ। करिब ८ अर्ब डलर खर्च गरेर पुनर्निर्माण हुन लागेको अमेरिकाकै सबैभन्दा व्यस्त यस भूमिगत रेल स्टेसनको नाम राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट ‘ट्रम्प स्टेसन’ राख्ने तयारी भएको हो।

अमेरिकी यातायात मन्त्री सन डफीले संसदलाई पठाएको पत्रमा स्टेसनको नाम फेर्न आग्रह गरेका छन्। उनले पत्रमा नाम के राख्ने भनेर नखुलाए पनि ट्रम्पको नाम राख्दा राम्रो सुनिने यसअघि नै बताएका थिए। ट्रम्पकी प्रवक्ता क्यारोलिन लेभिटले पनि स्टेसनको नाम ट्रम्प राख्न किन नहुने भन्दै यसको समर्थन गरेकी छन्।

राष्ट्रपति ट्रम्पले भने यो प्रस्ताव आफ्नो नभई न्युयोर्कका सिनेटर चक सुमर र केही राजनीतिज्ञ तथा निर्माण युनियनका नेताहरूले ल्याएको दाबी गरेका छन्। सुरुङ मार्गको बजेट खुलाउनका लागि नाम फेर्ने सर्त राखेको भन्ने आरोपलाई उनले अस्वीकार गरे।

आलोचकहरूले भने यसलाई ट्रम्पको व्यक्तिगत रबाफ देखाउने खेल भन्दै विरोध गरेका छन्। डेमोक्रेटिक सांसद जेरी नाडलरले यो करदाताको पैसा दुरुपयोग गर्ने योजना भएको र स्थानीय निकायबाट अधिकार खोस्न खोजिएको बताए। त्यस्तै, यातायात अधिकारकर्मीहरूले स्टेसनको नाम फेर्नुभन्दा यात्रुको सुविधा र समय बचाउन ध्यान दिनुपर्ने बताएका छन्।

सन् १९१० मा बनेको यस स्टेसनलाई अहिले पुरानै आकर्षक शैलीमा बनाउने योजना छ। सार्वजनिक भएको नयाँ डिजाइनमा स्टेसनको भित्तामा ट्रम्पको नाम र छाप पनि राखिएको छ।