१० साउन २०८३, आइतवार
26 July 2026, Sunday

भारतको बाटो हुँदै श्रमिक विदेश पठाउन रोक, व्यवसायी असन्तुष्ट

भारतको बाटो हुँदै श्रमिक विदेश पठाउन रोक, व्यवसायी असन्तुष्ट

काठमाडौं- नेपाल सरकारले भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई विदेश पठाएको भन्दै करिब छ सयवटा वैदेशिक रोजगार कम्पनीलाई कारबाहीको चेतावनी दिएको छ।

वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले अहिले देशको उडान अवस्था सामान्य रहेको र नेपालबाटै टिकटको अभाव नभएको बताइन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको बेला दिइएको अनुमतिको अहिले दुरुपयोग भइरहेको भन्दै यो कानुन विपरीत हुने बताइन्। नियम नमान्ने कम्पनीलाई पटक-पटक सचेत गराउँदा पनि अटेर गरेमा अनुमति पत्र नै खारेज गर्न सकिने उनले चेतावनी दिइन्।

यता, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले भने सरकारको कारबाहीप्रति असन्तुष्टि जनाएका छन्। उनले अवस्था सहज भएपछि नेपालकै विमानस्थल मात्रै प्रयोग गर्नुपर्ने भनेर सरकारले पूर्व जानकारी नदिएको बताए। नेपालबाट उड्दा भन्दा भारतको बाटो हुँदै जाँदा हवाई टिकट निकै सस्तो पर्ने भएकाले रोजगारदाता र श्रमिककै रोजाइमा भारतका विमानस्थल प्रयोग हुने गरेको उनले प्रस्ट पारे।

वैदेशिक रोजगार कानुनअनुसार श्रमिक पठाउँदा आफ्नै देशको विमानस्थल प्रयोग गर्नुपर्छ। विशेष कारणले नेपालको विमानस्थलमा टिकट नपाएको अवस्थामा मात्र विभागको स्वीकृति लिएर विदेशी विमानस्थल प्रयोग गर्न पाइने व्यवस्था छ। श्रमिकको सुरक्षा र निगरानीका लागि नेपालका विमानस्थलमा रहेका श्रम डेस्कमार्फत कागजात जाँच गरेर मात्र पठाउने गरिन्छ।