क्विन्सको फ्लसिङमा भीषण आगलागीः ७८ वर्षीया महिलाको मृत्यु, २२ घाइते
- १० साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कस्थित क्विन्सको फ्लसिङमा शनिबार भीषण आगलागी हुँदा एक ७८ वर्षीया महिलाको ज्यान गएको छ। यस घटनामा कम्तीमा २२ जना घाइते भएका छन्।
बिहान १० बजेतिर ४१ औं रोडमा रहेको एउटा घरबाट सुरु भएको आगो दिउँसोसम्ममा फैलिएर अन्य दुईवटा भवनमा पनि सल्किएको थियो। आगो नियन्त्रण गर्न २७० जना अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीको टोली खटिएको थियो।
न्युयोर्क प्रहरीले मृत्यु हुने महिलाको नाम भने खुलाएको छैन। अस्पताल पुर्याएपछि उनलाई मृत घोषणा गरिएको थियो। घाइते हुनेहरुमा सर्वसाधारणसहित आगो निभाउन खटिएका अग्नि नियन्त्रक र स्वास्थ्यकर्मी छन्। घाइतेमध्ये एक जना सर्वसाधारणको अवस्था गम्भीर छ भने अन्यको अवस्था खतरामुक्त छ।
प्रत्यक्षदर्शी येजेन अल-स्वेतीले घटना अत्यन्तै डरलाग्दो भएको बताए। उनले आगो निभाउने क्रममा एक जना अग्नि नियन्त्रक झ्यालबाट खसेको तर डोरी समातेर ज्यान जोगाएको देखेको बताए।