१३ साउन २०८३, बुधबार
29 July 2026, Wednesday

सिएटलमा खाना महोत्सवमा गोलीकाण्ड: ३ जनाको मृत्यु, ४ घाइते

सिएटलमा खाना महोत्सवमा गोलीकाण्ड: ३ जनाको मृत्यु, ४ घाइते

न्युयोर्क- अमेरिकाको सिएटलस्थित ‘स्पेस निडल’ नजिकै भइरहेको खाना महोत्सवमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार बेलुका भएको उक्त घटनामा कम्तीमा ३ जना बन्दुकधारी संलग्न थिए।

प्रहरीले घटनामा संलग्न एक १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ। अदालतमा पेस गरिएको कागजात अनुसार, पक्राउ परेका किशोर, घटनास्थलमै मृत्यु भएका अर्का व्यक्ति र कम्तीमा एक अज्ञात व्यक्तिबीच गोली हानाहान भएको थियो। प्रहरीले अहिले फरार रहेका ती अज्ञात व्यक्तिको खोजी गरिरहेको छ।

गोलीकाण्डमा मारिनेमा १९ र ४४ वर्षका दुई पुरुष तथा ५६ वर्षकी एक महिला छन्। घाइते हुने ४ जनामध्ये एक २ वर्षीय बालक पनि छन्। ती बालकको अवस्था अहिले सामान्य रहेको र अन्य घाइतेहरू उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ। बालक आफ्नी आमासँग महोत्सवमा गएका थिए।

‘बाइट अफ सिएटल’ नामक उक्त वार्षिक महोत्सवमा हजारौं मानिस जम्मा भएका थिए। बेलुका ६ बजेतिर एक्कासि गोली चलेपछि त्यहाँ ठूलो भागदौड मच्चिएको थियो। मानिसहरू ज्यान जोगाउन नजिकैका भवन र सङ्ग्रहालयतिर भागेका थिए। भागदौडका क्रममा व्यापारीहरूले आफ्ना खाना र सरसामान त्यत्तिकै छाडेका थिए। सोमबार बिहान मात्रै उनीहरूलाई आफ्नो सामान लिन घटनास्थलमा जान दिइएको थियो।