१३ साउन २०८३, बुधबार
29 July 2026, Wednesday

आप्रवासीको हत्या गर्ने अमेरिकी अध्यागमन अधिकारीमाथि छानबिन

आप्रवासीको हत्या गर्ने अमेरिकी अध्यागमन अधिकारीमाथि छानबिन

न्युयोर्क- अमेरिकाको मेन राज्यमा एक कोलम्बियन आप्रवासीको गोली हानी हत्या गर्ने अध्यागमन अधिकारीको पृष्ठभूमिमाथि आन्तरिक छानबिन सुरु भएको छ। ती अधिकारीका आफन्तहरूले उनको गम्भीर मानसिक समस्या र हिंसात्मक पृष्ठभूमि रहेको खुलाएपछि ट्रम्प प्रशासनका सीमा मामिला प्रमुख टम होमनले यसबारे जानकारी दिएका हुन्।

होमनका अनुसार ती अधिकारी डेभिड ब्रुलेटमाथि लागेका आरोपहरू सत्य हुन् भने उनले छनौट प्रक्रिया पार गर्नै हुँदैनथ्यो। अहिले उक्त घटनासँगै अधिकारीहरूलाई दिइने तालिम र पृष्ठभूमि जाँचको प्रक्रियामाथि आन्तरिक मामिला विभागले अनुसन्धान गरिरहेको छ।

मेन र ह्युस्टन सहरमा लगातार आप्रवासीहरूमाथि गोली प्रहार भएपछि सरकारले हतारमा हजारौं नयाँ अध्यागमन अधिकारीहरू भर्ना गरेको विषयमा चौतर्फी प्रश्न उठेको छ। यी घटनाहरूपछि अध्यागमन निकायले सवारीसाधन रोकेर जाँच गर्दा अधिकारीहरूले अनिवार्य रूपमा कम्तीमा एउटा ‘बडी क्यामेरा’ प्रयोग गर्नुपर्ने नयाँ नियम लागू गरेको छ।

अमेरिकी सांसदहरूले समेत अधिकारीहरूको तालिम र रणनीतिका विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। हालै मात्र अध्यागमन अधिकारीहरूविरुद्ध अत्यधिक बल प्रयोग गरेका ५६ वटा उजुरी परेको बताइएको छ। ट्रम्प प्रशासनले कानुनी हैसियत नभएका आप्रवासीहरूलाई देशनिकाला गर्ने अभियानलाई तीव्रता दिए पनि यस क्रममा भइरहेका ज्यान जाने घटनाहरूले कडा आलोचना बढाएको छ।