ट्रम्पले ह्वाइट हाउसमा जेलेन्स्की र नेतान्याहूसँग भेट्दै, सेनेटर ग्राहमको अन्त्येष्टिमा पनि सहभागी हुने
- १२ साउन २०८३
- १ मिनेटको पढाई
वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनस्थित ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन्।
ह्वाइट हाउसका अनुसार ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहूबीच इरानसँगको युद्ध, लेबनान शान्ति प्रक्रिया र ‘एब्राहम एकोर्ड’ को विस्तारबारे छलफल हुनेछ। गत फेब्रुअरीमा इरानविरुद्ध सैन्य कारबाही सुरु भएयता दुई नेताबीच यो पहिलो प्रत्यक्ष भेट हो।
यस्तै, राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग रुस-युक्रेन युद्धको पछिल्लो अवस्थाबारे कुराकानी गर्नेछन्। भेटवार्तापछि दुवै नेता कंग्रेसका दिवंगत सेनेटर लिन्डसे ग्राहमको अन्तिम संस्कारमा सहभागी हुने कार्यक्रम छ।
दिवंगत सेनेटर ग्राहमप्रति श्रद्धाञ्जली अर्पण गर्न अमेरिकी क्यापिटल भवनमा विशेष कार्यक्रम आयोजना गरिएको छ। त्यसपछि वासिङ्टन नेसनल क्याथेड्रलमा हुने अन्त्येष्टि सभालाई राष्ट्रपति ट्रम्पले सम्बोधन गर्नेछन्।
यसैबीच, अमेरिकी माथिल्लो सदन सेनेटले राष्ट्रिय गुप्तचर निर्देशकका रूपमा जे क्लेटनको मनोनयनलाई आजै अनुमोदन गर्ने सम्भावना छ। उनले कार्यवाहक गुप्तचर प्रमुख बिल पल्टलाई विस्थापित गर्नेछन्।