१४ साउन २०८३, बिहिबार
30 July 2026, Thursday

देशभर आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

देशभर आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं- आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा। ज्ञानको उज्यालो छरेर अज्ञानताको अन्धकार हटाउने गुरुप्रति सम्मान प्रकट गर्दै आज देशभर यो पर्व मनाइँदै छ।

शास्त्रमा गुरुलाई देवता समान मानिएको छ। आज विभिन्न विद्यालय, गुरुकुल र संघसंस्थाले आफूलाई शिक्षा र दीक्षा दिने गुरुप्रति श्रद्धा भाव प्रकट गर्दै विविध कार्यक्रम आयोजना गरेका छन्।

आजकै दिन वेदलाई चार भागमा बाँड्ने र १८ पुराण तथा महाभारतको रचना गर्ने वेदव्यासको जन्म भएको थियो। त्यसैले आजको दिनलाई व्यास जयन्तीका रूपमा पनि मनाइन्छ। व्यासले आफ्ना ग्रन्थहरूमार्फत अरूको भलाइ गर्नु धर्म र अरूलाई दुःख दिनु पाप हो भन्ने मानवतावादी सन्देश दिएका छन्।

यसै अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रम आयोजना गरेको छ। फाउन्डेसनका अध्यक्ष तथा पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले उक्त कार्यक्रममा गुरु पूर्णिमाको महत्वबारे प्रकाश पारिने जानकारी दिए।