१४ साउन २०८३, बिहिबार
30 July 2026, Thursday

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच भेटवार्ता, ऊर्जा क्षेत्रमा लगानी गर्न जाइका तयार

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच भेटवार्ता, ऊर्जा क्षेत्रमा लगानी गर्न जाइका तयार

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तनाका आकिहिकोबीच मङ्गलबार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा नेपालको ऊर्जा, जलस्रोत र पूर्वाधार विकासमा आपसी सहयोग र सहकार्य गर्ने विषयमा छलफल भयो।

मन्त्री श्रेष्ठले कनकाइ, चन्द्रनहर र नागढुङ्गा सुरुङमार्ग निर्माणमा जाइकाले गरेको सहयोगको प्रशंसा गर्दै नेपालको तर्फबाट धन्यवाद दिए। उनले नेपालको स्वच्छ र हरित ऊर्जालाई विश्वसामु चिनाउन जाइकाको मद्दत मागे। अहिले प्रसारण लाइन विस्तार र वितरण प्रणाली सुधारको काम भइरहेको जानकारी गराउँदै मन्त्री श्रेष्ठले नलगाड जलविद्युत् आयोजनामा पनि सहकार्य गर्न जाइकालाई आग्रह गरे।

नागढुङ्गा सुरुङमार्ग उद्घाटन गर्न नेपाल आएका अध्यक्ष आकिहिकोले भेटका क्रममा तनहुँ जलविद्युत् परियोजनामा देखिएको समस्या समाधान गरिदिन अनुरोध गरे। मन्त्री श्रेष्ठले उक्त समस्या समाधान गर्ने विश्वास दिलाए। आकिहिकोले नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रविधि र लगानी भित्र्याएर नयाँ परियोजनाहरूमा सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए।