ट्रम्प र नेतान्याहुबीच ह्वाइट हाउसमा भेटवार्ता, इरान युद्ध र शान्तिबारे छलफल
- १३ साउन २०८३
- १ मिनेटको पढाई
वासिङटन- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। दुई नेताबीच इरानसँगको युद्ध, लेबनानको शान्ति सम्झौता र मध्यपूर्वको सुरक्षा अवस्थाबारे गहन छलफल भएको हो।
गत फेब्रुअरीमा युद्ध सुरु भएपछि उनीहरूबीच भएको यो पहिलो प्रत्यक्ष भेट हो। भेटवार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पिट हेगसेथ पनि सहभागी थिए। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले दुई नेताबीचको छलफल सकारात्मक र फलदायी रहेको बताइन्।
पछिल्लो समय ट्रम्प र नेतान्याहुबीच केही नीतिगत विषयमा मतभेद देखिएका थिए। तर नेतान्याहुले सानातिना असहमति भए पनि दुई देश मिलेर अघि बढ्ने बताएका छन्। ट्रम्पले मंगलबार नै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि भेट गरी रुस-युक्रेन युद्धका विषयमा छलफल गरेका थिए।