३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

जन्मसिद्ध नागरिकता विवादः ट्रम्पले दिएनन् सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन

जन्मसिद्ध नागरिकता विवादः ट्रम्पले दिएनन् सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिएनन्। अदालतको फैसलामाथि पुनर्विचार गर्न माग गर्ने २५ दिने म्याद सोमबार राति सकिएको छ, तर ट्रम्प प्रशासनले कुनै निवेदन दर्ता गराएन।

गत जुन ३० मा अमेरिकी सर्वोच्च अदालतले बहुमतबाट ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रस्तावलाई खारेज गरेको थियो। अदालतको उक्त फैसलापछि ट्रम्पले जुलाई ८ मा सामाजिक सञ्जालमार्फत उक्त निर्णयलाई ‘न्यायको मर्मविपरीत’ भन्दै तत्काल पुनरावलोकनका लागि जाने घोषणा गरेका थिए।

ट्रम्पले अमेरिकामा जन्मेका तर आमाबाबुमध्ये कम्तीमा एक जना अमेरिकी नागरिक वा स्थायी बासिन्दा नभएका बालबालिकालाई जन्मसिद्ध नागरिकता नदिने नियम ल्याउन खोजेका थिए। तर अमेरिकी संविधानको १४औँ संशोधनले अमेरिकामा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने व्यवस्था गरेको भन्दै अदालतले ट्रम्पको प्रयासलाई रोक लगाएको थियो।

अदालतको नियमअनुसार मुद्दा हारेको पक्षले फैसला आएको २५ दिनभित्र पुनरावलोकनको माग गर्न पाउँछ। यद्यपि, यस्ता निवेदनहरू विरलै मात्र स्वीकार गरिन्छन् र पछिल्लो पटक सन् १९६५ मा मात्र यस्तो निवेदन स्वीकृत भएको थियो। यस विषयमा ह्वाइट हाउस र न्याय विभागले भने कुनै प्रतिक्रिया दिएका छैनन्।