न्युयोर्क क्षेत्रमा बाढीको जोखिम बढ्दोः यस्तो छ कारण
- १३ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क – न्युयोर्क र यसको वरपरका क्षेत्रमा पछिल्लो समय बाढी र डुबानका घटनाहरू लगातार बढ्दै गएका छन्। जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण भारी वर्षा हुन थालेपछि यस्ता घटनाहरू बढ्न थालेका हुन्।
एउटा वैज्ञानिक अध्ययनका अनुसार, अमेरिकामा उच्च बाढी जोखिम भएका तटीय सहरहरूमध्ये न्युयोर्क पनि एक हो। जमिनको उचाइ, पानी निकासको कमजोर अवस्था र बाक्लो बस्तीका कारण यहाँको जोखिम उच्च देखिएको छ। अनुसन्धानकर्ताहरूले सन् २०५० सम्ममा समुद्री सतह थप बढ्ने र यसले बाढीको खतरा झनै बढाउने चेतावनी दिएका छन्।
अमेरिकी अन्तरिक्ष संस्था (नासा) को तथ्यांक अनुसार सन् २००० यता विश्वभर बाढीको जोखिम भएका क्षेत्रमा बस्ने मानिसको संख्या २० देखि २४ प्रतिशतले बढेको छ। तापक्रम बढ्दा हावामा चिस्यान बढ्ने र त्यसले भारी वर्षा गराउने भएकाले बाढीको प्रकोप बढेको विज्ञहरूले बताएका छन्।
यस्ता जोखिम कम गर्न जोखिमपूर्ण क्षेत्रमा बस्ती बसाल्न रोक्नुपर्ने र सहरको ढल तथा पानी निकास प्रणालीलाई बलियो बनाउनुपर्ने सुझाव दिइएको छ।