३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

आपसी सद्भाव र एकता कायम राख्न राष्ट्रपतिको अपिल

आपसी सद्भाव र एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन्। उनले सदियौंदेखि कायम रहेको सामाजिक, धार्मिक तथा जातीय सद्भाव र राष्ट्रिय एकता जोगाइराख्न सबैसँग अपिल गरेका छन्।

एक अपिल जारी गर्दै पौडेलले आपसी मेलमिलाप र सहिष्णुता नै नेपालको पहिचान भएको बताए। उनले शान्ति व्यवस्था कायम गरी राष्ट्रिय एकता बलियो बनाउन राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीलाई आग्रह गरे। परिस्थितिलाई थप जटिल बन्न नदिई समुदायमा भाइचारा कायम गर्न उनको जोड छ।

अहिले उत्पन्न परिस्थितिलाई छिट्टै सामान्य बनाएर नागरिकलाई शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण तयार गर्न सरकार लाग्ने उनले विश्वास व्यक्त गरेका छन्। साथै, घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन उनले सरोकारवाला सबैलाई सचेत गराएका छन्।

पौडेलले उक्त घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।