प्रतिनिधिसभा बैठक: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न सांसदहरूको माग
- १४ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सुनसरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन र पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए।
विशेष समयमा बोल्दै सांसदहरू गुरुप्रसाद बराल, भरत गिरी, प्रकाशचन्द्र परियार, साजिका खातुन सिद्धिकी, सरस्वती लामा र प्रकाशसिंह कार्कीले सुनसरी घटनाबारे बोलेका थिए। उनीहरूले घटनाको उच्चस्तरीय छानबिन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न सरकारसँग माग गरे। साथै, समाजमा धार्मिक सहिष्णुता कायम राख्न सबैलाई आग्रह गर्दै हल्लाको पछि नलाग्न उनीहरूले बताए।
बैठकमा अन्य सांसदहरूले पनि देशका विभिन्न समस्या उठाए। सांसद युवराज दुलालले गुठी जग्गाको संरक्षण गर्न, आरेन राईले बाँदरले किसानको खेतीमा गरेको क्षति रोक्न र डा. चन्द्रमोहन यादवले किसानलाई समयमै मल, बीउ र सिँचाइको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे।
त्यसैगरी, सांसद श्रीराम न्यौपानेले नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरे भने डा. लेखजङ्ग थापाले वीरगन्जको नारायणी अस्पतालमा देखिएको विवाद वार्ताबाट समाधान भएको कुरा जानकारी गराए।