१५ साउन २०८३, शुक्रबार
31 July 2026, Friday

सुरक्षा परिषद् बैठक: सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन जोड

सुरक्षा परिषद् बैठक: सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन जोड

काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकायबीच समन्वय बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले साउन १० गते सुनसरीमा भएको घटनाको समीक्षा गरेको हो।

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरोकारवालासँग समन्वय गरेर काम गर्ने निर्णय बैठकले गरेको छ। यसका साथै, विपद्को बेला खोज, उद्धार र राहतको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बलियो बनाउने विषयमा पनि छलफल भयो।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले सबैको संयुक्त प्रयासले सुनसरीको अवस्था सामान्य बन्दै गएको जानकारी दिए। यो शान्तिपूर्ण अवस्थालाई दिगो बनाउन स्थानीय तहमा संवादलाई निरन्तरता दिने र भिड व्यवस्थापनका लागि सुरक्षा निकायको क्षमता बढाउने विषयमा पनि जोड दिइएको उनले बताए। बैठकमा अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव र प्रधान सेनापतिलगायत सहभागी थिए।