मानव बेचबिखनविरुद्ध विश्व दिवस: रोजगारीको बहानामा अनलाइन ठगी गराउने गिरोह सक्रिय
- १४ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- आज मानव बेचबिखनविरुद्धको विश्व दिवस मनाइँएकाे छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१४ देखि हरेक वर्ष जुलाई ३० का दिन यो दिवस मनाउने गरिन्छ। यस वर्ष यो दिवस ‘ठगीको जालभित्र थुनिएका’ भन्ने नाराका साथ विश्वभर मनाइँयाे।
पछिल्लो समय मानव बेचबिखनको नयाँ स्वरूप देखिएको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर मानिसलाई विदेश लैजाने र त्यहाँ बन्धक बनाएर जबर्जस्ती अनलाइन ठगी गर्न बाध्य पार्ने गिरोह सक्रिय भएका छन्।
बन्धक बनाइएका मानिसलाई प्रेम सम्बन्धको बहानामा गरिने ठगी, विद्युतीय मुद्राको ठगी र अन्य साइबर अपराध गर्न लगाइन्छ। उनीहरूलाई कडा निगरानी, त्रास र धम्कीमा राखिने भएकाले भाग्न वा कसैसँग सहयोग माग्न निकै गाह्रो हुने गरेको छ।
राष्ट्रसंघका अनुसार सन् २०२३ मा मात्र पूर्वी र दक्षिणपूर्वी एसियामा यस्ता अनलाइन ठगीबाट करिब १८ देखि ३७ अर्ब अमेरिकी डलर बराबरको ठूलो आर्थिक नोक्सानी भएको अनुमान छ। कोरोना महामारीपछि प्रविधिको दुरुपयोग गरेर हुने यस्ता शोषण झनै बढेका छन्।
यस्ता आधुनिक अपराध नियन्त्रण गर्न, कानुन सुधार गर्न, पीडितको उद्धार गर्न र दोषीलाई कारबाही गर्न राष्ट्रसंघले सबै देशहरूलाई एकजुट भएर काम गर्न आह्वान गरेको छ।