१५ साउन २०८३, शुक्रबार
31 July 2026, Friday

प्रधानमन्त्री बालेन शाहले गरे राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री बालेन शाहले गरे राष्ट्रका नाममा सम्बोधन

काठमाडौं- सुनसरीको देवानगन्ज र सिरहालगायतका क्षेत्रमा भएको अशान्त परिस्थितिप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य निकायहरूलाई निर्देशन दिइसकेको बताए। घटनालगत्तै शान्ति सुरक्षा कायम गर्न र थप अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। दोषी जो कोही भए पनि कानुनको दायरामा ल्याउने प्रतिबद्धता उनले जनाए।

परिस्थिति सामान्य बनाउन केन्द्रमा सर्वदलीय बैठक बसेको र स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज तथा धार्मिक अगुवाहरूसँग निरन्तर संवाद भइरहेको उनले बताए। स्थानीय अवस्थाको प्रत्यक्ष जानकारी लिन गृहमन्त्री आफैँ घटनास्थल पुगेका छन् भने राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर शान्ति सुरक्षाबारे आवश्यक निर्णय गरिसकेको छ।

शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह, घृणा र असत्य सूचना नफैलाउन सबैसँग आग्रह गरे। आधिकारिक सरकारी सूचनामा मात्र विश्वास गर्न भन्दै उनले सामाजिक सद्भाव र शान्ति सुरक्षा भङ्ग गर्ने गतिविधि गर्नेमाथि कडा कदम चाल्ने चेतावनी दिए।

नेपालको संविधानले सबैलाई आफ्नो धर्म र संस्कृति मान्ने हक दिएको स्मरण गराउँदै उनले धर्मले समाजलाई जोड्ने र प्रेम बाँड्ने काम गर्ने बताए। यो कठिन र संवेदनशील घडीमा धैर्यता, आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न उनले सम्पूर्ण नागरिक, राजनीतिक दल र सरोकारवालालाई अपिल गरे।