हंसराज जोशीको ‘छुटेका सपना’ बजारमा आउँदै
- ०६ भदौ २०८३
- १ मिनेटको पढाई
घायलश्री, न्यूयोर्क – युवा गीतकार तथा लेखक हंसराज जोशीको सिर्जना ‘छुटेका सपना’ को म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छ। वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिन बाध्य नेपाली युवाको पीडा र बुढेसकालमा सन्तानको सहारा खोजिरहेका बाबुआमाको संघर्षलाई केन्द्रमा राखिएको भिडियोले नेपाली समाजको यथार्थ कथा बोल्ने प्रयास गरेको छ।
वृद्ध बाबुआमाको सहारा बन्नुपर्ने उमेरमा छोरा रोजगारीका लागि परदेशिन बाध्य हुन्छ। उता, सन्तानको साथ र सहारा गुमाएका बाबुआमा बाँच्नकै लागि बुढेसकालमा चिया र फूल बेच्न सडकमा निस्कनुपर्ने अवस्था भोग्छन्। यही पीडादायी यथार्थलाई ‘छुटेका सपना’ले दृश्य र शब्दमार्फत प्रस्तुत गरेको छ।
गीतकार जोशीका अनुसार गीतमा कुनै काल्पनिक कथा बुन्नुभन्दा आफ्नै गाउँघरमा देख्दै र भोग्दै आएका घटनालाई शब्दमा उतार्ने प्रयास गरिएको हो। उनका शब्दमा नेपाली समाजमा दिनहुँ देखिने पारिवारिक बिछोड, वैदेशिक रोजगारी र वृद्धावस्थाको असहायपनलाई गीतले भावनात्मक रूपमा समेटेको छ।
गीतमा आदेश गुर्माछानको स्वर रहेको छ। म्युजिक भिडियोमा पुराना तथा अनुभवी कलाकार सुवास गजुरेललगायतको अभिनयले भिडियोलाई जीवन्त बनाएको छ। बिन्दु पन्त जोशीको प्रस्तुति रहेको भिडियोको निर्देशन रोशन भट्टले गरेका हुन्।
परदेशिएका लाखौँ नेपाली र उनीहरूको पर्खाइमा रहेका बाबुआमाको साझा पीडालाई पर्दामा उतारिएको ‘छुटेका सपना’ले दर्शकलाई मनोरञ्जनसँगै गहिरो भावनात्मक अनुभूति गराउने अपेक्षा गरिएको छ। यो एउटा परिवारको कथा मात्र नभई, वैदेशिक रोजगारीले टाढिएका असंख्य नेपाली घरभित्रको साझा पीडाको प्रतिबिम्ब बन्ने देखिन्छ।