सेवाग्राही खोज्दै रामेछापका जनप्रतिनिधि र कर्मचारी काठमाडौं शहरमा
- २१ भदौ २०८३
- २ मिनेटको पढाई
काठमाडौं – सेवाग्राही तथा मतदाता खोज्दै रामेछापका जनप्रतिनिधि काठमाडौं उपत्यकामा आएका छन्। काठमाडौं उपत्यकामा अस्थायी बसोबास गर्ने सेवाग्राहीलाई लक्षित गर्दै सामाजिक सुरक्षा भत्ताको नामावली नवीकरण, नाता प्रमाणित, जन्मदर्ता, सिफारिसलगायत वडाबाट सेवा उपलब्ध गराउन जनप्रतिनिधि र कर्मचारी उपत्यकामा आएका हुन्।
लिखु तामाकोशी गाउँपालिका-२ का वडाअध्यक्ष सन्तोष पौडेलका अनुसार वडामा रहेका नागरिकलाई घुम्ती शिविरमार्फत सेवा उपलब्ध गराएपछि काठमाडौंमा अस्थायी बसोबास गर्न नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो। उनले शनिबारबाट ३ दिनका लागि आयोजित शिविरमा हालसम्म २०० भन्दा बढीले सेवा लिएको जानकारी दिए। वडाअध्यक्ष पौडेलले सबैभन्दा बढी नवीकरण गर्ने र त्यसपश्चात जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्ताको गर्ने सेवाग्राही आएको बताए।
यता गोकुलगंगा गाउँपालिका-५ नामाडीका वडा अध्यक्ष दीपक कार्कीले शुक्रबारबाट आज बिहानसम्म काठमाडौंमा आयोजित शिविरमा ८०/८५ जनाले सेवा लिएको जानकारी दिए।
त्यसैगरी लिखु गाउँपालिका-४ का वडा अध्यक्ष दीपक पुलामीले पनि वडाका नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा दिन मंगलबारबाट काठमाडौंमा शिविर राखिएको जानकारी दिए।
लिखु तामाकोशी गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका शाखा प्रमुख सिजन खड्काले रामेछापका धेरै नागरिक काठमाडौं शहरमा बसोबास गर्ने भएकाले पालिका भित्रका वडाले शिविर सञ्चालन गर्ने क्रम जारी रहेको बताए। ‘हरेक वर्ष सामाजिक भत्ताका लागि बायोमेट्रिकसहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने व्यवस्था छ। यस अगाडि वडा-वडामा पुगेर सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको नवीकरण गरिएको थियो।’ उनले भने,‘कतिपय ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरूलाई बर्खामा गाउँसम्म पुग्न समस्या हुने गुनासो बढेपछि जनप्रतिनिधि र कर्मचारी नै काठमाडौं उपत्यकामा आएर सेवा दिएको हो। वडाले शिविरको आयोजना गरेपनि सम्पर्कमा आएका अन्य वडा/ पालिका/ जिल्लाभरीकै सेवाग्राहीको भत्ता नवीकरण हामीले गरिदिएका छौं। वडाले दिने सेवा पनि वडाअध्यक्ष र वडा सचिवमार्फत भइरहेको छ।’
सेवाग्राही टीकादेवी सुनुवारले गाउँ जान नसकेको अवस्थामा शहरमै सुविधा पाएकोमा खुसी व्यक्त गरिन्। उनले भनिन्,‘गाउँमा बस्ने नागरिकले गाउँमै सेवा पाउनुभयो। हामी शहरमा थियौं। वडा कार्यालयमा नपुगी हाम्रा काम हुने थिएन। काठमाडौंमा शिविर राखेपछि सेवा लिन पायौं। आगामी वर्षमा पनि कार्यक्रमले निरन्तरता पाओस्।’
जिल्लाका अन्य गाउँपालिका तथा वडाले पनि घुम्ती शिविर सञ्चालन गरिरहेका छन्।