२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

नमुनादीप युवा क्लबले गर्‍यो रक्तदान कार्यक्रम

नमुनादीप युवा क्लबले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं – नमुनादीप युवा क्लब (शाखा: सैपु, रामेछाप), बानेश्वरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम भएको छ। भदौ २० गते शनिबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवामा आयोजित उक्त कार्यक्रममा २८ जनाले रक्तदान गरेको सचिव निरज पौडेलले जानकारी दिए।

‘मानवता नै हाम्रो पहिचान, रक्तदान जीवनदान’भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा रामेछाप, ओखलढुंगा लगायतका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। बिरामीहरूलाई रगतको अभाव नहोस् र जीवन रक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको पौडेलको भनाई छ।

रक्तदान गर्न पुगेका रामेछापका शंकर पौडेलले आफूले ४६ औं पटक रक्तदान गरेको बताए। उनले अरुलाई पनि रक्तदान गर्न प्रेरित गर्नुपर्ने बताए। ‘रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन बरू आत्मसन्तुष्टि प्रदान गर्दछ। समयावधि पुगेपछी रक्तदान गर्नुपर्ने कुरामा जोड दिनुपर्छ। कसैको ज्यान जोगाउन डाक्टर नै हुनपर्दछ भन्ने पनि छैन। हाम्रो सहयोगले कसैको जीवन जोगिन्छ भने किन रक्तदान नगर्ने ? हामीलाई रक्तदानमै खुसी मिल्छ।’

कार्यक्रममा १०० जनाभन्दा बढी उपस्थित भएर आफ्नो नाम दर्ता गराएकोमा केही रक्तदाताको उच्च र न्युन रक्तचाप तथा स्वास्थ्यको अन्य कारणले गर्दा रक्तदान गर्न नसकेको अध्यक्ष निरोज पौडेल बताए। उनले रक्तदान गर्न पहिलेभन्दा अहिले युवा उत्साहित हुनेक्रम बढ्दै गएको बताए।

उक्त कार्यक्रममा श्री लेती सेवा समाज (ओखलढुङ्गा, काठमाडौँ) सह-आयोजकको रूपमा रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा (भृकुटीमण्डप) ले प्राविधिक सहयोग पुर्‍याएको थियो। ‘एक थोपा रगत, धेरै जीवनको आधार’ तथा ‘तपाईंको सानो योगदान, कसैको अमूल्य जीवन’ भन्ने भावलाई आत्मसाथ गर्दै आयोजना गरिएको सामाजिक कार्यमा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई क्लबका धन्यवाद ज्ञापन गरेको छ।