२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

९/११ को २५औँ स्मृति दिवस: अमेरिकाभर श्रद्धाञ्जली, ट्रम्प पेन्टागनमा

९/११ को २५औँ स्मृति दिवस: अमेरिकाभर श्रद्धाञ्जली, ट्रम्प पेन्टागनमा

न्युयोर्क : अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्कवादी हमलाको २५ वर्ष पूरा भएको छ। यस अवसरमा अमेरिकाभर विभिन्न कार्यक्रम गरी ज्यान गुमाउने करिब ३ हजार जनालाई श्रद्धाञ्जली दिइँदैछ।

न्युयोर्कको ‘ग्राउन्ड जिरो’, वासिङ्टन डिसीको पेन्टागन र पेन्सिलभेनियाको स्याङ्क्सभिलमा विशेष स्मृति कार्यक्रम भइरहेका छन्। ग्राउन्ड जिरोमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुस, बिल क्लिन्टन, बाराक ओबामा र उपराष्ट्रपति जेडी भान्स सहभागी छन्। त्यहाँ मृतकहरूको नाम पढेर सुनाइएको छ। नाम पढ्ने क्रममा एक मृतकका परिवारले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ९/११ हमलासँग सम्बन्धित साउदी अरब जोडिएका गोप्य फाइलहरू सार्वजनिक गर्न आग्रह गरेका छन्।

यता, राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प पेन्टागनमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्। त्यहाँ बिहानै भवनको भित्तामा ठूलो अमेरिकी झन्डा फहराइएको छ। २५ वर्षअघि पेन्टागनमा हमला भएको समय ९ बजेर ३७ मिनेटमा त्यहाँ मौन धारण गरिँदैछ।

त्यसैगरी, स्याङ्क्सभिलमा अपहरित विमान ९३ का यात्रुहरूको सम्झनामा परिवार र आफन्तहरू भेला भएका छन्। त्यहाँ मृतकहरूको तस्बिरसहित श्रद्धाञ्जली अर्पण गरिएको छ।

हमलाको २५औँ वर्षको अवसरमा पूर्व उपराष्ट्रपति कमला ह्यारिस, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम लगायतका नेताहरूले पनि समवेदना प्रकट गर्दै अमेरिकी जनताप्रति ऐक्यबद्धता जनाएका छन्।