३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

तीजमा पशुपतिनाथमा दर्शनार्थीको चाप

तीजमा पशुपतिनाथमा दर्शनार्थीको चाप

काठमाडौं- तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान १० बजेपछि दर्शनार्थीको चाप बढेको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले बिहान ९ बजेसम्म भीड कम भए पनि त्यसपछि भक्तजनको चाप बढेको बताए। बिहान सबेरै मन्दिर पुगेकाहरुले भने आधा घण्टामै दर्शन गरेर फर्किएका थिए।

बिहान पानी परेको र भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले धेरैको ज्यान गएको शोकका कारण यस वर्ष भक्तजनको सङ्ख्या केही घटेको छ। बाढीमा परी १३ सयभन्दा बढीको ज्यान गएको र चार हजारजति बेपत्ता भएकोले धेरैजना शोकमा छन्।

हतार हुने भक्तजनका लागि कोषले एक हजार रुपैयाँको सःशुल्क टिकटको व्यवस्था गरेको छ। यो टिकट काटेपछि लाइनमा नबसी छिटै दर्शन गरेर फर्कन सकिन्छ।

आज दिउँसो ३ बजे प्रथम महिला सविता पौडेलले पनि पशुपतिनाथको दर्शन तथा पूजा गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ। पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वरलगायत काठमाडौँ उपत्यका र देशभरका साना–ठूला शिवालयहरुमा पनि महिला भक्तजनको बाक्लो घुइँचो लागेको छ।