३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा फास्ट फ्यानमा आबद्ध व्यवसायीले गरे ३ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा फास्ट फ्यानमा आबद्ध व्यवसायीले गरे ३ लाख सहयोग

काठमाडौं – फास्ट फ्यानमा आबद्ध व्यवसायीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका छन्। भदौ १० गते भोटेकोशीमा आएको बाढी प्रभावितको दुःखमा ऐक्यबद्धता जनाउँदै व्यवसायी सदस्य र शुभचिन्तकबाट संकलित सहयोगमा संस्थाको तर्फबाट थप गरी उक्त रकम कोषमा जम्मा गरेका हो ।

सहयोग रकम फास्ट फुड एसोसियसन नेपाल (फास्ट फ्यान) का अध्यक्ष होमराज श्रेष्ठ,महासचिव राकेश श्रेष्ठसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा हस्तान्तरण गरेको हो।

पीडित परिवारको दुःखमा हाम्रो सानो सहयोगले राहत र पुनर्रस्थापनामा केही योगदान पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको महासचिव श्रेष्ठले बताए। उनले भने,‘पछिल्लो समय देशको अर्थतन्त्र कमजोर हुँदै गएको छ। झन् पछिल्लो समय बाढी/ पहिरोका कारण समस्या बढेको छ। ग्यास अभावले गर्दा व्यवसायीलाई पनि समस्या भएको छ। विगतका वर्षका तुलनामा अर्थतन्त्र चलायमान हुन सकेको छैन। यद्यपि हामी व्यवसायीको सानो सहयोगले पनि प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनाका लागि राज्यलाई सहयोग हुन्छ भनेर रकम हस्तान्तरण गरेका हौं।’