विदेशी विद्यार्थी र पत्रकारको बसाइ छोट्याउने नियममा अदालतको रोक
- ३० भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकामा विदेशी विद्यार्थी, अनुसन्धानकर्ता र पत्रकारको बसाइ अवधि छोट्याउने सरकारको नयाँ नियमलाई एउटा संघीय अदालतले रोक लगाएको छ। मंगलबारदेखि लागू हुन लागेको उक्त नियमलाई कार्यान्वयन नगर्न म्यासाचुसेट्सका एक जिल्ला न्यायाधीशले सोमबार आदेश दिएका हुन्।
नयाँ नियमअनुसार अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीको बसाइ अधिकतम चार वर्ष र विदेशी पत्रकारको बसाइ दुई सय चालीस दिन मात्र तोकिएको थियो। यसअघि विद्यार्थीले आफ्नो पढाइ नसकिँदासम्म अमेरिकामा बस्न पाउने सुविधा पाउँदै आएका थिए।
न्यायाधीशले यो नीतिले अमेरिकी अर्थतन्त्र र उच्च शिक्षा प्रणालीमा गम्भीर क्षति पुर्याउने बताए। उनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ल्याइएको यो नियमको औचित्य एकदमै कमजोर रहेको र यसले शैक्षिक संस्था तथा प्रेसमाथि सरकारको नियन्त्रण बढाउन खोजेको आशंका व्यक्त गरे।
यो निर्णयले अमेरिकामा विद्यावारिधि जस्ता लामो समय लाग्ने अध्ययन गरिरहेका लाखौं अन्तर्राष्ट्रिय विद्यार्थी र अनुसन्धानकर्तालाई ठूलो राहत मिलेको छ। अमेरिकाका विभिन्न विश्वविद्यालय, शैक्षिक संस्था र मजदुर संगठनले यो नियम खारेजीको माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए। नयाँ नियम लागू भएको भए प्रवेशाज्ञाको म्याद थप गर्न सरकारी अधिकारीको भर पर्नुपर्ने थियो र अस्वीकृत भएमा अपिल गर्ने मौका समेत पाइने थिएन। अदालतको यो आदेशसँगै हाललाई पुरानै व्यवस्था कायम रहनेछ।