पक्राउ परेका ३०० भन्दा बढी कोरियाली कामदार ट्रम्प प्रशासनविरुद्ध कानुनी लडाइँमा
- ३१ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- जर्जियास्थित हुन्डाई कम्पनीको विद्युतीय गाडी निर्माण कारखानामा गत वर्ष पक्राउ परेका ३०० भन्दा बढी दक्षिण कोरियाली कामदारले अमेरिकी सरकारविरुद्ध कानुनी कदम चालेका छन्। उनीहरूले ट्रम्प प्रशासनको समयमा भएको अध्यागमन छापा मार्ने कार्यविरुद्ध विभिन्न नौवटा सङ्घीय निकायमा उजुरी दर्ता गराउन सुरु गरेका छन्।
सन् २०२५ सेप्टेम्बर ४ मा जर्जियाको एलाबेलमा रहेको कारखानामा छापा मारेर ४७५ जना कामदारलाई पक्राउ गरिएको थियो, जसमा धेरैजसो दक्षिण कोरियाली नागरिक थिए। पक्राउ परेका कामदारले आफूहरूलाई विनाकारण पक्राउ गरिएको, हतकडी लगाइएको र दोभाषेविना नै नबुझिने कागजमा हस्ताक्षर गर्न बाध्य पारिएको बताएका छन्। उनीहरूलाई करिब एक हप्तासम्म भिडभाडयुक्त खोरमा कष्टकर अवस्थामा थुनामा राखिएको थियो।
कामदारको तर्फबाट मुद्दा लडिरहेकी वकिलका अनुसार उनीहरूले कानुनविपरीत थुनामा राखेको, मानसिक यातना दिएको र सामान जफत गरेको भन्दै क्षतिपूर्ति तथा अमेरिकी सरकारबाट गल्ती स्वीकार गरी माफीको माग गरेका छन्। यता, अमेरिकी अध्यागमन निकायले भने उनीहरूले भिसाको नियम उल्लङ्घन गरी अवैध रूपमा काम गरिरहेको आशङ्कामा पक्राउ गरिएको बताएको छ। तर, पक्राउ परेका कामदारले भने आफूहरूसँग काम गर्न मिल्ने वैध भिसा रहेको दाबी गरेका छन्।
थुनामुक्त भएर स्वदेश फर्किएका कतिपय कामदार अहिले फेरि उही कामको लागि अमेरिका पुगेका छन्। उनीहरूले आफ्नो काम अत्यन्तै प्राविधिक भएको र अमेरिकी कामदारलाई सिकाउन त्यहाँ जानैपर्ने बाध्यता रहेको बताए। यद्यपि, फेरि पक्राउ परिने डर सधैँ मनमा रहने उनीहरूले सुनाए।